Published On:Friday, April 10, 2015
Posted by dadad
यस्तो कुनै पनि आमालाई कहिल्यै नहोस
बिरामीलाई तुरुन्त ओटीमा लग्नु प¥यो ।
ईन्टरकलमा कुराकानी गर्दै एक नर्स
ओटी (अप्रेसन थेयटर) खाली छ ।
छैन ।
हो र ?
हो, हो । अर्कोको अप्रेशन चलिरहेको छ । टाईम लाग्छ ।
देख्दै नदेखेको भर्खरै धर्तीमा आएको मानिसलाई शब उल्लेख गरेको कागज लिनको लागि साक्षी बस्दै गर्दा सुनेको आवाज हो ।
मन मनै अब आमा र सन्ताको ज्यान नै जाने भयो, कत्तिबेला के अप्रिय खबर सुन्नु पर्ने यो यो काननले कुनै ठेगान छैन ।
सिस्टर तपाँईहरु कहाँ कति वटा ओटी छ ।
दुईवटा ।
अनि अहिले दुई वटै बिजी हो ?
त्यही भन्ने खबर आयो ।
अब ती चिच्याईरहेको महिलालाई तलमाथि भई हाल्यो भने ?
हामीसंग कुनै उपाय र बिकल्प छैन ।
मेरो पनि च्यूँ.......च्यू.........गर्नुको विकल्पै रहेन यत्तिखेर ।
यहाँ कति जनालाई सुत्केरी गराउन सकिन्छ यहाँ एक पटकमा ?
आठ जना ।
अनि ड्यूटीमा कति जना हुनुहुन्छ, तपाँईहरुलाई ?
दुई जना ।
दुई जनाले आठ जनालाई हेर्न भ्याउनु हुन्छ त ?
भन्न मिल्दैन (माथिबाट प्रमिशन लिएर मात्रै हामीले बोल्न पाउँछौं)
के जनताले जान्न पाउने हक राख्दैनन ?
पाउँछन किन नपाउनु, तर हामीले आदेश आएपछि मात्रै भन्न मिल्छ ।
(यो सम्बाद हो, बिहिबार थापाथली प्रशुती गृहको सुत्केरी गराउने अति गोप्य कक्षमा रहेका नर्ससंगको)
भित्र प्रबश पीडाले छटपटाईरहेकी महिला आवाज झन झन ठूलो भईरहेको थियो । जत्तिनै आवाज ठूलो भए पनि उनको पालो आउने हैन, किनकी ओटी बिजी छ ।
...............
च्याहाँ......च्याँह......
यही आवाजले आमाको सबै पीडा बिर्साउने ।
अनि नारीले पाउने सबैभन्दा ठूलो सन्तुष्टि र आफूलाई पूर्ण भएको ठान्ने ।
तर, न पीडा बिर्साउन पाइयो, न त आफैंले जन्माएको पहिलो सन्तानको, पहिलो र अन्तिम पटक मुख हेर्न पाइयो । आँखै अगाडि हुँदा आवाजको खोजीमा भौतारिनु पर्ने । आँखाबाट टाढा पुगेपछि सक्किगो नि !
अस्पतालमा कुनै कुनै कोठाहरु हुन्छन, जहाँ पुरुषलाई बर्जित गराईन्छ । म पनि त्यही सोचेर ढोकाबाट च्याउँदै फर्कदैं गरेको थिएँ । तर सुत्केरी भईसकेपछि, वार्डमा सार्नुभन्दा अगाडि राखिने ठाउँमा जान पाईने रहेछ । गएँ । भर्खरै आमा भएकी बहिनीको निधार छामें ।
कस्तो छ नानी , तिमीलाई ?
मेरो भन्दा मलिन स्वरमा जवाफ फर्काईन
ठीक छ ।
अहिले गा¥हो त भएको छैन नि छैन ?
छैन ।
यत्ति भनें आँखामा आँखा जुधाउन सकिन ।
मैले कुनै अपराध गरेको थिइँन, तर आँखा जुधाउन सकिन । चस्माले छोपेका एक जोडी आँखामा औंलाहरु पु¥याउन सकिन । आँसुले आँखाका आलीहरु नाघिसेका थिए, अब केहिबेरमा वार्डमा सार्छ अनि सजिलो होला । यत्ति भने अनि हतार हतार बाहिर निस्केर आँखालाई ओभानो र गोजीमा भएको रुमालको एउटा छेऊ चिस्याएँ ।
ल बधाई छ, तपाँईले पुत्र÷पुत्री लाभ गर्नुभएको छ ।
यही वाक्यको प्रतिक्षामा बसेका बाबालाई डाक्टरले पहिलो पटक आएर भने
बच्चाको अबस्था एकदमै क्रिटिकल छ, हामीले भेन्टिलेटर राखेर कोसिस गरिरहेका छौं ।
त्यसको एक घण्टा पछि फेरी डाक्टर बाहिरिए ।
माफ गर्नुहोला, हाम्रो प्रयास सफल भएन ।
सबैको शीर निहुरिए, आँखा भरिए । कसले कस्को अनुहार हेर्नु के भन्नु । आँखा अगाडिका डाक्टर कता गए थाहा नै पाईएन ।
राति नै पेट दुखेपछि बहिनीलाई अस्पताल पु¥याईएको रहेछ । हत्तारहतार आकस्मिक कक्षमा लगियो । हिजो मात्रै अस्पताल गएर चेकजाँच गराउँदा सबै ठीक छ । आमा र बच्चालाई कुनै खतरा छैन । अब दिन नजिकै आउँदैछ, अप्ठ्यारो भयो भने अस्पताल आईहाल्नु होला । दिउँसो चेकजाँचमा डाक्टरहरुले भनेका थिए ।
२०७२ साल बैशाख ४ गतेका लागि डेट दिईएको थियो । डेट आउन बाँकी नै थियो । कुनै समस्या छैन भनेपछिको आनन्द त बेग्दै भयो । नियमित जाँच भईरहेको थियो, कहिल्यै पनि कुनै खराबी नै देखिएन । खराबी देखिएर पनि डाक्टरहरुले नभनेको भए बेग्लै कुरा ।
बहिनीसंगै अस्पताल गएकाहरुसंग सबैकुरा बुझें । आमाको अबस्था ठीक छ, तर बच्चालाई बचाउन नसकेको डाक्टरहरुले बताए ।
जे सुन्नु नपरोस भनेको त्यही सुन्नु प¥यो ।
किन यस्तो भयो रे ?
बच्चा जन्मनु अघिसम्म कुनै खराबी छैन, तपाँईको बच्चा सबैभन्दा राम्रो छ भन्ने जन्मने बित्तिकै यस्तो कुरा गर्छन ।
मलाई त भाउन्न भो ।
अस्पतालका निर्देशक प्रध्यापक डाक्टर जागेश्वर गौतमलाई फोन गरें । आफू नेपाल एफएममा कार्यरत रहेको र यत्तिखेर अस्पतालमै रहेको जानकारी गराएर भेट्न चाहेको बताएँ ।
गौतमले दुई घण्टा पछि मात्रै फ्रि हुने बताए ।
पत्रकारको परिचयले तत्काल भेट नहुने देखिएपछि मैले आफ्नो समस्या बताएँ, अनि घटनाबारे स्पष्ट हुन चाहेको अबगत गराएँ । मैले फोन गर्दा १२ बजेर ५ मिनेट गएको थियो । पौने एक बजे भेट्ने समय मिल्यो ।
गयौं, बिरामीको नाम पुनस्मरण गराएपछि सचिबालयका कर्मचारीलाई बिरामीको कागज ल्याउन लगाए ।
त्यत्तिन जेल भर्खरै प्रेस काउन्सिलबाट राजिनामा दिएको प्रसंग कोट्याएँ । गौतम खुलेर कुरा गर्ने मुडमा रहेछन छोटो समयमा धेरै कुरा बताए । संगसंगै आत्मपुराण पनि सुनाउन भ्याए । आफू गोरखाको भएर काठमाण्डौं नचिनिएको प्रष्टिकरण दिए अनि । आफू कहिल्यै पनि दोस्रो हुन नपरेको बताए । आफू राम्रो सर्जन रहेको बताउँदै कुराको बिट मारे ।
सचिबालयका कर्मचारीले कागाज ल्याए । डाक्टरले कागज पढूनजेल त्यहाँ पूरै सन्नाटा छायो । कहिं बाट कुनै आवाज आएन ।
निर्देशक डाक्टर बोल्न थाले, यो घटनाले तपाँईहरुलाई जति दुःखी बनाएको छ, म पनि त्यत्ति नै दुःखी भएको छु । हाम्रो मान्यता कुनै पनि बच्चा लस नहोस भन्ने हो । तर कहिल्यै काहिं नचाएका दुर्घटनाहरु हुन्छन । आज राति मात्रै हामीले पालुंगबाट आएकी आमालई बचायौं, तर बच्चालाई बचाउन सकेनौं । धेरै ढिलो भईसकेको थियो, बच्चाले आमाके पेटमै दिसा खाईसकेको रहेछ । धड्कन अलिअलि बाँकी छ, बच्चा बाँच्ने चान्स निकै कम छ, अप्रेसन गरौं भनेर अभिभाबकहरुसंग कन्सर्न लिएर आफ्नो काम गर्यौं, तर हामी सफल भएनौ ।
तर यहाँ तपाँईहरुले बच्चा गुमाउनुको देखिने र तपाँईहरुलाई भन्ने कारण केहि पनि छैन ।
विना कारण पनि मृत्यु सम्भब छ र ?
ल सुन्नुहोस, आज बिहान २ बजेर ५० मिनेटमा भर्ना तपाँईहरको बिरामी भर्ना भएको देखिन्छ । ५ बजेर ५० मिनेटमा डाक्टरले दोस्रो पटक जाँच गर्दा ६ सेन्टीमिटर खुलेको देखायो । बिहान ९ बजेर ४१ मिनेटमा डेलिभरी भएको देखाउँछ । यहाँ कुनै समस्या आएको नै देखिदैन यही भएर हामीले अप्रेसन गर्नु पर्ने कारण देखेनौं । अप्रेशन गर्न डिल भएर यसो भएको हो भन्ने तपाँईहरुको जिज्ञासा होला ? तर अप्रेशन गर्न पनि त कारण चाहिन्छ नि ? अप्रेशन गर्नु आवश्यक नै देखिएन । यसरी हेर्दा आमा र अस्पतालको कुनै कमजोरी वा खराबी छैन । सायद बच्चामा केहि समस्या हुनुपर्छ ।
केहिबेर अघिसम्म सबै ठीक भएको बच्चा कसरी एकाएक त्यस्तो हुन्छ ?
हुन सक्छ, अहिलेसम्म बच्चाको भित्री अबस्थाको बारेमा बुझ्न सक्ने कुनै पनि यन्त्र उपकरण नै बनेको छैन । भिडियो एक्सेबाट बच्चाको बाहिरी अंगहरु ठीक छ, छैन भन्ने देखाउने मात्रै हो । जसरी आँखाले रातो, हरियो, पहेलो भन्ने मात्रै देखाउँछ, गन्ध थाहा पाउँदैनन नि ? हो कुरा त्यस्तै हो । आमाको पेटमा रहँदा बच्चाको रक्तसंचार र श्यासप्रश्वास प्रक्रिया बाहिर आईसकेपछि फरक हुन्छ । सायद त्यो प्रक्रियामा बालक असफल भयो ।
ड्यूटीमा रहेको र आमाबच्चा हेर्ने डाक्टरको मुखबाट सुनेर चित्त बुझाउने ठाउँ हुन्छ कि भनेर निर्देशक गौतमलाई पटक पटक आग्रह गरें । तर उनले डाक्टरको नाम समेत बताउन चाहेनन । किन चाहेनन उनै जानुन ।
मैले शंका गरेको यहीं नै हो, किन गौतमले हेर्ने डाक्टरको परिचय दिएनन, किन कुरा गराएनन ?
हुन त म मेडिकल बिद्यार्थी नभएर पनि होला, डाक्टरको कुराबाट म अलिकति सन्तुष्ट हुन सकिन । चित्त बुझाउने ठाउँ नै देखिन । यो नेपाल हो, जहाँ मर्नेहरुलाई नै दोष थोपरिन्छ । यत्रो राजदरबार हत्याकाण्ड भयो, त्यहाँ मर्ने दिपेन्द्रकै दोष भयो । हवाई जहाजहरु दुर्घटनाहरु हुन्छन, दोष पाईलटकै देखाईन्छ । दुर्घटनामा चालक बाँचे भने सडककै दोष देखाईन्छ । त्यही भएर हो यहाँ पनि जन्मने बित्तिकै मर्ने बच्चाको नै दोष भयो । जन्मने बित्तिकै मर्नु पनि त्यही बच्चाको दोष देखियो । जन्मने बित्तिकै रुन नसक्नु सबैभन्दा ठूलो गल्ती उसको त्यही थियो ।
कुनै दिन त्यो बच्चाले आफूमाथि थोपरिएको दोषको जवाफ दिन सक्छ कि ?
कसरी हुन्छ, म मन बुझाउने उपायको खोजीमा थिएँ । फेरी बहिनी भएको ठाउँमा पुगें ।
बहिनीसंग प्रश्न गरें नानी, सिष्टरहरुले जबरजस्ती बच्चा तानेका थिए कि ?
छैनन, त्यस्तो केहि पनि गरेको मैले थाहा पाईन । मैले बच्चा जन्माईसक्ने बित्तिकै, त्यत्तिकै छाडेर अर्को बेडमा गए । अर्को महिलालाई पनि बेथाले च्यापेको थियो ।
सायद मृत्युको कारण जन्मने बित्तिकैको बच्चालाई बेबारिसे अबस्थामा छाड्नुको कारण पो हो कि मृत्युको कारण ।
जे होस म, मुखसम्म हेर्न नपाएको जन्मने बित्तिकै नरुने र सास फेर्न प्रयास नगर्ने बच्चोको शब बुझेको कागजमा हस्ताक्षर गर्ने ठाउँमा उभिएको थिएन । त्यो भन्दा पहिले सही गर्न डाक्टर कुरिरहेको थिएँ ।
त्यही डाक्टरले हेरेका होलान भनेर मृत्युको कारण सोधें । उनले पनि निर्देशक गौतमकै बोली बोले, त्यसमा म पहिल्यै सन्तुष्ट हुन सकेको थिईन । त्यत्ति भने बिरामी हेर्ने बेड तिर दौडिए । डाक्टरले कुनै आईडी भिरेका थिएनन । माथि एप्रोन र तल एप्रोनको कलरसंग नमिल्ने पाईन्ट लगाएका थिए, डाक्टर रहेछन भन्ने एउटा आधार त्यही थियो ।
यत्ति बुझ्न पनि मैले धेरै गाली खानु परेको थियो, कुनै बेला डाक्टरलाई सिस्टर बनेको निहुँमा हो, गाली खाएको । तलदेखि माथिसम्म सेतो कपडा लगाउने सिस्टर रे, माथि सेतो तल अर्कै कलर लगाउने डाक्टर रे ।
अस्पतालमा हुने लापरबाही र त्यहाँ माथि प्रशुती गृह थापाथलीको अबस्थाको बारेमा जगजाहेर छ । २०१६ सालमा बनेको प्रशुती गृह जुन सेवा सुबिधाले भरिपूर्ण छ । जहाँबाट सुत्केरी गराउन दक्ष बनाउने भनेर स्वास्थ्यकर्मीहरुलाई तालिम पनि दिन्छ ।
संयोग पनि कस्तो, केहिघण्टाकै फरकमा मकवानपुरको पालुङकै दुई जना आमाले सन्तान बियोग ब्यहोर्नु प¥यो ?
पशुपति जाने हो ?
हँ, म झस्किँए ।
केहि अगाडि कार्टुन बोकेर आफन्त उभिरहनु भएको थियो, बच्चा त्यहि कार्टुन भित्र छ भन्ने पक्का भयो ।
सोचें, मृत्युको कारण स्पष्ट बताउन नसकेका डाक्टरहरुलाई बच्चाले रोएर आफूलाई लागेको दोषको जवाफ दिन्छ कि जस्तो लागिरहेको थियो ।
तर, त्यो कहिल्यै साकार नहुने मेरो कल्पना थियो ।
के साकार हुन्थ्यो ।
मनमा तर्कना खेलाउँदै खेलाउँदै, अस्पतालको मूख्य गेटसम्म पुगें ।
आँखाले देख्नेबेलासम्म हात उठाएर बाई गरिरहें ।
जन्मने बित्तिकै रुन नसकेको दोषमा कार्टुनमा प्याक भएर पशुपति यात्रामा गएको बच्चालाई बिदा गरिसकेपछि,
नर्सहरुसंग कुराकानी गरें ।
बच्चाको आमालाई कस्तो छ ?
ठीक छ, हामीले बच्चा जन्मेको ठाउँ थोरै सिलाई दिएका छौं । तर टाँकाबाट रगत बगिरहेको छ । केहि समयमा ठीक हुन्छ । हामी वार्डमा सार्छौं । भोलिसम्म डिस्चार्ज होला ।
(ठीक छ भन्दा भन्दै मेरो बहिनीलाई पनि मार्नु हुन्छ कि ? मनमनै प्रश्न गरें । मुखबाट आवाज निकालिन । प्रशुती गृह लैजानु सट्टाा अन्य कुनै अस्पताल लगेको भए, बच्चा बाँच्थ्यो कि ?)
यी पंक्तिहरु लेखिरहँदा अहिले पनि प्रशब बेदनाले छट्पटाई रहेकी आमा हुने तयारीमा रहेकी महिलालाई सम्झिरहेकी छु ।
ओटी कुर्दा कुर्दै आमा र बच्चाको हालत के होला ?
तर भगवान त्यस्तो नहोस, आमा खोसेको वा रुन नसकेको दोष जन्मने बित्तिकैको बच्चालाई नलागोस ।



