Published On:Tuesday, November 4, 2014
Posted by dadad
करदाता शिक्षाले राजस्व तिर्ने बढे
१८ कार्तिक भीमदत्तनगर । करदाता शिक्षा कार्यक्रम लागू भएपछि महाकाली अञ्चलमा कर तिर्नेको सङ्ख्या दोब्बरले बढेको छ । आन्तरिक राजस्व कार्यालय कञ्चनपुरका अनुसार महाकाली अञ्चलमा राजस्व सङ्कलन दोब्बरले बढेको हो ।
करसम्बन्धी जनचेतना विस्तार भएसँगै कर तिर्नेको सङ्ख्या दोब्बरले बढेको आन्तरिक राजस्व कार्यालय कञ्चनपुरका कर अधिकृत दीपककुमार केसीले बताए ।
करदाता शिक्षा सञ्चालन भएको चार वर्षमा पाँच हजारभन्दा बढी करदाता करको दायरामा आएको कर अधिकृत केसीको भनाई छ । आन्तरिक राजस्व विभागले कर प्रणालीमा परिवर्तन गरी बढीभन्दा बढी करदातालाई करमा सहभागी गराउने नीतिअनुरुप चार वर्ष पहिले करदाता शिक्षा कार्यक्रम अगाडि बढाइएको थियो ।
करदाता शिक्षा कार्यक्रममा फर्म, उद्योगको विवरण पेस, करको दर, कति समय अवधिमा कर बुझाउने, कर बुझाउँदा हुने फाइदा आदि बारेमा जानकारी दिइन्छ । कर अधिकृत केसीका अनुसार यस वर्ष महाकाली अञ्चलमा ११ वटा करदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । स्थानीय उद्योग वाणिज्य सङ्घ, त्यसका शाखा, व्यावसायिक वित्तीय फर्मको समन्वयमा कर शिक्षा कक्षा सञ्चालन गरिन्छ । रासस