Published On:Sunday, November 2, 2014
Posted by dadad
चितवनमा भएको सवारी दुर्घटनामा २ को मृत्यु
१६ कार्तिक, चितवन । चितवनमा आईतबार भएको दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् । काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना१ज १९१८ नम्बरको माइक्रोबसले विपरीत दिशाबाट जाँदै गरेको ग५प ५२२० नम्बरको मोटरसाइकललाई बिहान ठक्कर दिँदा मोटरसाइकल चालक आँबुखैरेनीका ४० वर्षीय महेश्वर भट्टराईको मृत्यु भएको हो ।
उनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको चितवनका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले बताए । मोटरसाइकल पछाडि बसेका गोरखाका कृष्णसिंह बस्नेतको अवस्था गम्भीर रहेको बताइएको छ ।
त्यस्तै मध्याह्न १२ बजे भरतपुर ओरालोमा नारायणगढतर्फ जाँदै गरेको को३प ५३१६ नम्बरको मोटरसाइकलले शुक्रनगरकी ६० वर्षीया खगिसरा भूसाललाई ठक्कर दिँदा उनको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी भूसालको उपचारका लागि भरतपुर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।