Published On:Sunday, November 2, 2014
Posted by dadad
सार्क सम्मेलनको अवसरमा पुरातात्विक महत्वका स्थल मर्मत
१६ कार्तिक, काठमाडौं । सरकारले सार्कलाई लक्षित गरी काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न छ वटा स्थलमा मर्मत एवम् जीर्णोद्धार कार्य अघि बढाएको छ ।
आगामी मङ्सिर १० र ११ मा काठमाडौँ हुने सार्कको १८औँ शिखर सम्मेलनमा आउने सार्क राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखलगायतका अतिथिलाई ती स्थलको भ्रमण गराउने लक्ष्य अनुरुप मर्मत एवम् सुधारको प्रक्रिया अघि बढाएको हो ।
सम्मेलनलाई लक्षित गरी भक्तपुर दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, हनुमानढोका दरबार क्षेत्र, चाँगुनारायण, स्वयम्भू र बौद्धनाथ क्षेत्रलाई मर्मत एवम् सुधार गर्न लागिएको पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए ।
त्यसका लागि कुल एक करोड ६२ लाख रुपैयाँ विनियोजन गरिएकोमा भक्तपुर दरबार क्षेत्रका लागि ७५ लाख, चाँगुनारायणका लागि ३० लाख, पाटन दरबार क्षेत्रका लागि २० लाख, स्वयम्भूका लागि १५ लाख, हनुमान ढोकाका लागि १५ लाख र बौद्धनाथका लागि सात लाख रुपैयाँ छुट्याइएको छ ।
यसअघि काठमाडौँमा सम्पन्न सन् १९८७ नोभेम्बर २, ३ र ४ को तेस्रो सार्क शिखर सम्मेलन र सन् २००२ जनवरी ५ र ६ मा सम्पन्न एघारौँ शिखर सम्मेलनामा पनि सार्क राष्ट्रका पाहुनाहरुलाई पुरातात्विक स्थलहरुको भ्रमण गराइएको थियो ।
मङ्सिर ७, ८ गतेभित्रमा मर्मत एवम् सुधारका सम्पूर्ण कामहरु सम्पन्न गर्ने गरी काम तीव्र रुपमा अघि बढाइएको उहाँले जानकारी गराए । मर्मत सुधार कार्यका साथै उक्त क्षेत्रमा सार्क राष्ट्रका अतिथिहरुलाई भ्रमण गराउन विभागले पथप्रदर्शकहरुको समेत व्यवस्था गरिसकेको उनले बताए ।