Published On:Sunday, November 2, 2014
Posted by dadad

नुवाकोटमा एमाओवादीको समानान्तर कमिटी गठन

नुवाकोट । एकीकृत नेकपा (माओवादी) को नुवाकोटमा पनि समानान्तर जिल्ला कमिटीको घोषणा भएको छ ।
एमाओवादीको जिल्ला अध्यक्ष हिरानाथ खतिवडा सहित तीन जनालाई कारबाहीको घोषणासहित समानान्तर समितिको गठन भएको सार्वजनिक गरिएको छ ।

जिल्लामा नेता डा बाबुराम भट्टराई पक्षधर भनि चिनिएकाहरुको नेतृत्वमा समानान्तर जिल्ला कमिटी गठन भएको हो । आईतबार विदुरमा भएको बैठकले एमाओवादी विशेष जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । छ सदस्यपछि थप्ने गरी गठन भएको ६१ सदस्य रहेको समितिको संयोजकमा राजकुमार रेग्मी रहनुभएको छ ।

एमाओवादीको संस्थापन पक्षले पार्टी हितविपरित काम गरेको भन्दै रेग्मीसहित चार जनालाई गत बिहीबार कारबाही गरी निलम्बन गरेको थियो ।  रेग्मीको संयोजकत्वमा तीन महिनाअघि गठित ‘वैचारिक बहस समिति’ गठन भएपछि स्पष्टीकरण मागेको जिल्ला कमिटीले रेग्मीसहित गणेश अधिकारी, रजमान तामाङ, नवराज ढुङ्गाना र गोकर्णनाथ न्यौपानेलाई कारबाही गरेको थियो ।

जिल्ला कमिटीले कारबाही गरेकाहरुकै नेतृत्वमा समानान्तर समिति गठन गरी संस्थापन पक्षमा जिल्ला अध्यक्षसहित तीन जनालाई कारबाही गरी अनिश्चितकालका लागि निलम्बन गरेको जनाइएको छ । समितिका संयोजक रेग्मीद्वारा जारी विज्ञप्तिमा जिल्ला अध्यक्ष हिरानाथ खतिवडा, उपाध्यक्ष मुकुन्द पौडेल र सचिव पुष्प लामिछानेलाई पार्टीको हितविपरित कार्य गरेको र वैचारिक बहसलाई निषेध गरेको कारण जनाउँदै कारबाही गरी निलम्बन गरिएको घोषणा गरिएको छ ।

0 comments for "नुवाकोटमा एमाओवादीको समानान्तर कमिटी गठन"

Leave a reply