Published On:Friday, October 24, 2014
Posted by Tekman Shakya

आठ सय भाषा भएको अनौठो मुलुक

काठमाडौँ, २५ असोज । लेखक चन्द्रप्रसाद भट्टराईले लेखेको ‘अनौठा मुलुक अनौठा अनुभूति’ कृति भाषाशास्त्रीले पढ्नैपर्नेमा जोड दिइएको छ ।

लेखकले एसिया महादेशमा पर्ने प्रशान्त महासागरको टापुहरुको मुलुक पपुवा न्युगिनीमा भ्रमण गर्दाका विभिन्न अनुभूति सङ्ग्रह गरी पुस्तक निकालिएको हो । उत्कृष्ट प्रकाशनले बजारमा ल्याएको पुस्तकमा डा तारानाथ शर्माले भूमिका लेखेका छन् ।

पुस्तक अध्येताहरुको संस्था ‘बुकाहोलिक्स’ संस्थाले गरेको दशौँ चकटी बहसमा कार्यक्रममा ‘पण्डित’ रामराज लोहनीले ८०० भाषाको सो मुलुक भाषाशास्त्रीका लागि तीर्थस्थलका रुपमा रहेकाले तिनले पनि भ्रमण गर्नुपर्ने बताए ।

उनले स्थानीय रावोल सहरमा भएको ज्वालामुखी विष्फोट, प्रशान्त महासागर नजिक रहेको टापुका बासिन्दाले करेसाबारीमा तरकारी टिप्नभन्दा छिटो माछा समात्ने, कुनै समय त्यहाँका मान्छेले मान्छेको मासु खाने भनी गरिएको यथार्थ वर्णन पुस्तकमा पाइने बताए । केही तथ्यतथ्याङ्कमा पाइने विरोधाभास र लेखनमा एकरुपता नदेखिनु कृतिको कमजोरी हो –उनले बताए ।

प्रकाशनका अध्यक्ष हरिप्रसाद रिमाल, कूटनीतिज्ञ गोपाल पोखरेल, लेखक सूर्य सुवेदी, इन्दिरा अर्याल, हरिहर भण्डारी, नवीन खनाल, श्याम रिमाल र शिव अर्यालले नियात्रामा भाषिक कमजोरी रहे पनि विकास अर्थशास्त्री लेखकले विदेशमा बस्दा पनि नेपाली माटो मुटुलाई सम्झेकामा प्रशंसा गरे ।

कार्यक्रमका संयोजक सगुना शाह र अनुपम पोखरेलले पुस्तकमा प्रयोग भएका महिला पात्रलाई उच्च आदर गर्न सुझाव दिँदै पुस्तक लोकप्रिय हुने विश्वास व्यक्त गरे ।

लेखक भट्टराईले आफूले यसअघि ‘सहयात्रा’ कथासङ्ग्रह र ‘प्रशान्तका छालहरुमा मेरो नेपाल’ नियात्रा सङ्ग्रह ल्याए पनि नियात्रामाथि धेरै अध्ययन अनुसन्धान र टिप्पणी प्राप्त भएकाले अब आफू नियात्रामै केन्द्रित हुने र भविष्यमा बेलायत यात्रासम्बन्धी कृति आउने जानकारी दिए । रासस

0 comments for "आठ सय भाषा भएको अनौठो मुलुक"

Leave a reply

    Popular Posts

    Blog Archive