Published On:Friday, October 24, 2014
Posted by Tekman Shakya
रहेनन् जनकवि केसरी धर्मराज थापा

अन्तिम श्रद्धान्जलिका लागि थापाको पार्थिव शरीर कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा राखिनेछ ।
थापा उच्च रक्तचाप तथा प्यारालाइसिस पीडित थिए । थापाको प्यारालाइसिसका कारण दाहिने हात र खुट्टा चल्दैनथियो ।
पोखराको बाटुलेचौरमा विक्रम सम्वत १९८१ साल साउनमा जन्मिएका थापाले १०० भन्दा बढी लोकप्रिय गीतहरु गाएका थिए । प्रजातन्त्रको मिर्मिरे(२००७) मा प्रजातन्त्रको काफल, पाक्यो बरी लै, हरियोडाँडा माथि हलो जोत्ने साथी, हाम्रो तेन्जिङ शेर्पाले, चढ्यो हिमाल चुचुरा, आज मादल बजेको किन ? गाउँबेसी दुनियाँ बिउँझाउन, धुरुधुरु नरोऊ आमा, तिम्रो आँसु पुछेर छाडौंला, घर सम्झी रोएको होला, डाँडाकाटी गएको नेपाली जस्ता गीतमार्फत उनले गाउँबस्ती ब्युँझाएका थिए ।
राणा र पञ्चायत विरुद्धमा गतिविधि गरेबापत उनले राज्यबाट दु:ख समेत पाएका थिए । थापा २००८ सालमा कर्मचारीलाइ उक्साएर हड्ताल गरेको भन्दै गोर्खापत्रको मुखियाबाट खोसुवामा परेका थिए । डाक्टर केआइ. सिंहको बिद्रोहमा समर्थन गरेकोमा ३० दिन जेलपरेपछि त्यसपछिको एक वर्ष भारतका देहरादुन, भाक्सु, आसाम, दार्जिलिङ, सिक्किम लगायतका ठाउँमा लोक भाका गुञ्जाएका थिए। २०१३ सालमा जनकवि केसरीको उपाधि पाएका थापा आम रुपमा जनगायकका रुपमा चिनिन्छन्। चर्चित लोकगायिका ज्ञानु राणा थापाकै छोरी हुन् । उक्त समयमा उनका नेपालीले माया मार्यो बरी लै, झमझम परेली, हाम्रो तेन्जीङ शेर्पाले, धुरुधुरु नरोऊ आमा, लगायतका गीतहरु चर्चित थिए । उनले आफ्नो जीवनको अधिकांश समय नेपाली लोकगीत, लोक संस्कृति र लोकजीवनको अध्ययन र प्रचार प्रसारमा लगाएका थिए । उनले आफ्नो पहलमा गन्धर्व र सारङ्गीलाई संसारसामु चिनाएका थिए। धर्मराज थापाको ‘मालती मङ्गले’ काव्यलाई मदन पुरष्कार गुठीले २०२५ सालको साहित्यतर्फको मदन पुरष्कार प्रदान गरेको थियो । उनले २०५७ सालमा गुठीले जगदम्बा श्री पुरष्कार प्राप्त गरेका थिए । उनी गीत गाउने मात्रै नभएर गीत, कविता, लेख, साहित्य, संस्कृति, यात्रा संस्मरण लगायतका विधामा पनि उत्तिकै प्रखर थिए । उनका २९ वटा कृति प्रकाशित छन्।