Published On:Wednesday, October 22, 2014
Posted by dadad
हिरोको भन्दा धेरै पैसा पाउने कुकुर
प्रकाश सायमी - कुकुरलाई मान्छेको जीवनमा
अनेका पाटोसित जोडिन्छ तर कुकुर सदैव मानिसको अनिवार्य मित्र हो, सास र बास
रहुञ्जेलसम्म । नेपाली साहित्यमा लैनसिंह बाँग्देल लिखित उपन्यास लँगडाको
साथीमा कुकुरसित नायकको मित्रता कति घनिष्ठ देखाइएको छ ।
कुकुर हाम्रो जीवनमा त्यतिकै प्रियकर
प्राणी हो जसरी बाँग्देलले देखाएका छन् । मान्छेले कुकुरलाई कति छिटो नाम
दिइहाल्छन्, खैरे, काले, डम्फू, आदि आदि । अझै राम्रो सम्मान दिने र
सामाजिकता भएको परिवारमा त कुकुरलाई झन् आदरले अँग्रेजी नाम पनि दिने
गरेकाछन् , प्रेमले । रक्की, जेनी, टमी, बुल्स् आदि आदि लोकप्रिय नाम पाइ
आएको छ ।
कुकुरसित मानवीय जीवन र कथामा अनेकानेक
प्रसंग, इतिहास र घटना जोडिआएका छन् तर अद्भूत र अचम्म लाग्ने कथा धार्मिक
ग्रन्थमा पनि छन् । युधिष्ठिरसित अन्तिम अवस्थमा स्वर्ग पुग्ने प्राणी पनि
कुकुर नै हो, यसले एउटा गर्वशाली इतिहास दोहोर्याउँछ ।
कैँयौ बलिऊड, हलिऊड र नेपाली सिनेमामा
कुकुरलाई नायक सरहको रोल दिएर बनाइएका कैयन् सिनेमा छन्, हिन्दीमा नूरी
देखि हाल आएको पछिल्लो सिनेमा इन्टरटेन्टमैन ..सम्म । हलिऊड मा त कुकुरलाई
मुख्य पात्र बनाएका फिल्मले करोडौँ व्यापार गरेका छन् ।
नेपालमा पनि कुनै समय नायकले भन्दा बढी पैसामा बैंग्लोरबाट कुकुर झिकाएर फिल्म खेलाइएको इतिहास छ ।
हाम्रो समाजमा कुकुरको व्यापक इज्जत छ, प्रहरी सेवामा र अन्यत्र पनि ।
डिपार्टपेन्ट स्टोर मान्छेको निम्ति पाइने
खानाजस्तै डग्गी फुड भनेर कुकुरको निम्ति पनि खाना, ओछ्यान, बेल्ट,
सिरानी,साबुन, स्याम्पू र काँगियो बेचिएको पाइन्छ । कुकुर हाम्रो समाजको
अभिन्न सदस्य हो ।
कसैको घरमा कुनै दुर्घटना हुनु अगि वा
कोही मर्नु अगि कुकुर रोएको वा कुकुरले उदासीको प्रतीक दिएको अनेक लक्षणा
पाइन्छ । कुकुर जेहोस् , आम जीवनमा उच्चकार्षण पाउने प्राणी हो । कसैको
ठूलो घर वा बँग्लो छ भने घरको ढोकामा आफ्नो नेमप्लेटको छेवमा कुकुरको चित्र
टाँसेर लेखिएको हुन्छ, कुकुर देखि होशियार । त्यो घरमा मान्छे मात्र होइन
कुकुर पनि छ भन्ने बुझिन्छ ।
लाइका नामक् कुकुरले संसारमा जुन आकर्षण
पायो तर त्यस्तो इज्जत नपाएको एउटा कुकुर छ, निको । निकोको कथा रमाइलो छ ।
उनका मालिकले पहिलो पटक स्टुडिओमा गीत रेकर्डिँग गराए, तर उनको आवाज
रेकर्डिँग पछि घरमा ल्याएर सुनाए कसैले चिनेन वा उनको स्वर हो भनेर कसैले
पत्याएन । त्यतिवेला घरमा मान्छे खुशी भए जब निको नामका त्यो कुकुरले आफ्नो
मालिकको आवाज चिनेर आकाशतिर हेरेर भुके । त्यसपछि एलन खुशी भए,आफ्नो
स्वरको पहिचान भएकोमा । संसारको पहिलो रेकर्डेड गायकको आवाज चिन्ने प्राणी
कुकुर थिए, वा निर्णायक नै ।
कुकुरकै छवि अंकित मोनोग्रामसहित पछि
रेकर्डिँग कम्पनीको लोगो बन्यो, जसलाई हिज मास्टर्स भ्वाइस् अर्थात् उसको
मालिकको आवाज भनियो । यो रेकर्डिँग कम्पनीपछि भारतसम्म आई पुग्यो र त्यहाँ
भारतका कैयन् कलाकारले पचासौँवर्ष सम्म गीत रेकर्ड गराए । कहिलेकाहिँ
हाम्रा कलाकारले पनि । हिज् मास्टर्स भ्वाइस् लाई छोटोमा एचएमभी भनियो,
त्यसैको कारणले हामी हिन्दी र अंग्रेजी गीत नेपालमै सुन्न थाल्यौँ । यो
रोचक कथा इतिहास भइसक्यो तर त्यो निको नामका कुकुरलाई हामीले विर्सेका
छैनौँ , हेरिरहन्छौँ क्यासेट, सिडीको खोलमा ।