Published On:Friday, October 24, 2014
Posted by Tekman Shakya

सिस्नुपानीको देउसी, ‘प्रधानमन्त्री लुतो कन्याउने’

सिस्नुपानी नेपालले हरेक वर्षको तिहारमा देशको समसामयिक परिस्थिति र विकृति विसङ्गतीमाथि प्रहार गर्दै व्यङ्ग्यात्मक देउसी–भैलो खेल्ने गरेको छ । विगतमाजस्तै यस वर्षपनि सिस्नुपानीको देउसी–भैलोमा संविधान निर्माणमा भइरहेको ढिलासुस्ती, दलहरुभित्र मौलाएको गुटगत राजनीति, बढ्दो महङ्गी, भ्रष्टाचार लगायतका विषयमा व्यङ्ग्य गरिएको छ । विभिन्न लोक लयलाई समेत समावेश गरेर तयार पारिएको देउसी–भैलोले नेपालको वर्तमान अवस्थालाई राम्ररी चित्रण गरेको छ ।

सिस्नुपानीको देउसी–भैलोको पूर्ण पाठ : आहै भनभन भाइ हो– संविधान ए भनभन बहिनी– संविधान ए स्वर मिलाईकन– संविधान ए जोडले भन– संविधान ए ढोगेर माटो– संविधान ए सुनौलो बाटो– संविधान ए विश्वकै चासो– संविधान ए पुस्तालाई नासो– संविधान ए घैंटामा सबको – घाम लागोस् ए देश फड्को मार्न – काम लागोस् ए भनभन भाइ हो – के भन्ने ? ए संविधान छिटो – ल्याउ भन्ने ।

हामी त्यसै आएनौं सिस्नुपानीले पठायो हामी त्यसै आएनौं सिस्नुपानीले पठायो संविधान ताकेर, दौराले ढाकेर । यात्रा हाम्रो टाढाको, दौरा सुरुवाल भाडाको जुत्ता आइलागेको, टोपी मागेको ।

नयाँ संविधानको मिति अझै पर सर्ने भो त्यही भएर हाम्ले देउसी खेल्नै पर्ने भो ।

दलको मेम्बर भइएन, प्राज्ञ स्राज्ञ पाइएन देउसी खेल्न यहीँ आइयो, अन्त गइएन ।

बाढीले नि छेकेन, पहिरोले देखेन बाटो खुल्लै पाइयो, ज्युँदै आइयो ।

सिस्नुपानी नेपालैका हामी कति कलाकार नि लैलै हजुरको दैलो, खेल्दै देउसी भैलो हजुरको दैलो, खेल्दै देउसी भैलो नाँच्दै आयौं छमछम, ए नाँच्दै आयौं छमछम ।

हाम्रो देश नेपालैमा जनतालाई ख्वाउँन नक्कली गोली, आउँछन् छाती खोली नक्कली गोली, आउँछन् छाती खोली अस्पतालमा छमछम, ए अस्पतालमा छमछम ।

बुद्धि विवेक मरेका, मट्टितेल डिजेल भरेका नेता हाम्रा कस्ता छन्, ग्यालिन् जस्ता छन् ।

छिमेकीका मोदी हिंड्दा संसार नै हल्लिन्छन् हाम्रा कोदे हिंड्दा खेरी आफैं हल्लिन्छन् । संविधान बनाउनलाई दिए मन्त्र ऋषिमन हाम्रा लालबुझक्कडले बुझे सिसीमन ।

फोहोर सिध्याउन मोदीले हातमा झाडु बोकेका देश रित्याउन हाम्राले डाडुले बोकेका ।

अरु देशका प्रधानमन्त्री आफ्नो देश बनाउने हाम्रा देशका प्रधानमन्त्री लुतो कन्याउने ।

गरिब प्रधानमन्त्रीलाई कसले यस्तो गरायो ? भान्छाबाटै ‘जाबो १२ लाख’ हरायो ।

सिंहदरबार कपालमा कस्तो जुम्रो परेछ प्रधानमन्त्री छानेको त झुम्रो परेछ ।

देखिहालियो युवा शक्ति राजनीतिमा उक्लेका शिर्षासनमा बस्ने नेता दाँत फुक्लेका ।

घिउ बेचुवा तरबार बेचुवा एकै ठाउँ बसेछन् संसदीय सुनुवाईको नाटक रचेछन् ।

गाली गरे, साली गरे भन्ने बेला भने इस् न्यायाधिसमा तिनैलाई गरे सिफारिस् ।

एकातिर न्याय छ, अर्का तिर मुर्ति छ विचौलियाज्यूहरुको बेग्लै फूर्ति छ ।

भ्रष्टाचार गर्नहुन्छ, गरिस् भन्न हुँदैन अरुलाई हात धो भन्छ, आफू धुँदैन । …… ….. ६०१ को लामो ताँती लुतेपांग्रे भाँती भाँती सात वर्ष दाम पारे, भत्ता मात्र झ्वाम पारे सात वर्ष दाम पारे, भत्ता मात्र झ्वाम पारे जनताका नाममा मिति सारे, ए जनताका नाममा मिति सारे ।

मधेसवादी हाम्रा पार्टी, भ्यागुताकै धार्नी जस्ता मिलौं भन्दै डुग्रिन्छन्, मन्त्री पाए उस्फ्रिन्छन् मिलौं भन्दै डुग्रिन्छन्, मन्त्री पाए उस्फ्रिन्छन् कसले गर्ने यिनलाई नियोजन, ए कसलाई गर्ने यिनलाई नियोजन ।

झ्वाम पार झ्वाम झ्वाम झ्वाम, झ्वाम पार झ्वाम झ्वाम झ्वाम झ्वाम पार झ्वाम झ्वाम झ्वाम झ्वाम पार झ्वाम झ्वाम झ्वाम । विद्यार्थी बन्छ, पढ्दिन भन्छ, बिग्रिन मन छ

झ्वाम पार झ्वाम झ्वाम झ्वाम झ्वाम हो, विद्यार्थी बन्छ, पढ्दिन भन्छ, बिग्रिन मन छ झ्वाम पार झ्वाम झ्वाम झ्वाम ।

हो, शिक्षक बन्छ, तलब खान्छ पढाइन भन्छ झ्वाम पार झ्वाम झ्वाम शहरभरी मेरो घरबारी, म सर्वहारी झ्वाम पार झ्वाम झ्वाम ।

घुसपैठको नाम छ, खानलाई मन छ, हुँ कर्मचारी झ्वाम पार झ्वाम झ्वाम घुसपैठको नाम छ, खानलाई मन छ, हुँ कर्मचारी झ्वाम पार झ्वाम झ्वाम झ्वाम पार झ्वाम झ्वाम झ्वाम झ्वाम पार झ्वाम झ्वाम झ्वाम झ्वाम पार झ्वाम झ्वाम झ्वाम झ्वाम पार झ्वाम झ्वाम झ्वाम ।

हातमा डन्डा, स्कुल बन्द, उठाउँछौं चन्दा, झ्वाम पार झ्वाम झ्वाम हातमा डन्डा, स्कुल बन्द, उठाउँछौं चन्दा, झ्वाम पार झ्वाम झ्वाम सजिलो झन्डा, उठाउन चन्दा, काम गर्न भन्दा झ्वाम पार झ्वाम झ्वाम हो, आज बनायो, भोलि खनायो, सरकारी बाटो, झ्वाम पार झ्वाम ।

हो, खेल्नलाई गयो, बेपत्ता भयो जित्नुको साटो झ्वाम पार झ्वाम हो, खेल्नलाई गयो, बेपत्ता भयो जित्नुको साटो झ्वाम पार झ्वाम झ्वाम पार झ्वाम झ्वाम झ्वाम झ्वाम पार झ्वाम झ्वाम झ्वाम झ्वाम पार झ्वाम झ्वाम झ्वाम झ्वाम पार झ्वाम झ्वाम झ्वाम ।

जागिरे भन्छ, भन्सारमा धन छ, दरबार बन्छ, झ्वाम पार झ्वाम झ्वाम जागिरे भन्छ, भन्सारमा धन छ, दरबार बन्छ, झ्वाम पार झ्वाम झ्वाम हो…, पैसाका धारा, घरमा सार, मालपोतले भन्छ झ्वाम पार झ्वाम झ्वाम

हो, आयल निगम, निगम न सिगम बोनस लिइहाल झ्वाम पार झ्वाम झ्वाम टेलिकम नेपाल, भित्र छ बेहाल, एनसेनलाई कमाल, झ्वाम पार झ्वाम झ्वाम झ्वाम पार झ्वाम झ्वाम झ्वाम झ्वाम पार झ्वाम झ्वाम झ्वाम झ्वाम पार झ्वाम झ्वाम झ्वाम झ्वाम पार झ्वाम झ्वाम झ्वाम ।

अख्तियार जान्छ सानालाई हान्छ ठूलालाई सहन्छ, झ्वाम झ्वाम झ्वाम अख्तियार जान्छ सानालाई हान्छ ठूलालाई सहन्छ, झ्वाम झ्वाम झ्वाम

हो, मुखले भन्छ संधिवान बन्छ, कामले खन्छ , झ्वाम झ्वाम झ्वाम पुलिसका ज्याकेट, कमिसन प्याकेट, नहाली हुन्न, झ्वाम झ्वाम झ्वाम

हो, सुन्डमुसुन्ड, नेताले गुन्डा, नपाली हुन्न, झ्वाम झ्वाम झ्वाम हो, सुन्डमुसुन्ड, नेताले गुन्डा, नपाली हुन्न, झ्वाम झ्वाम झ्वाम झ्वाम पार झ्वाम झ्वाम झ्वाम, झ्वाम झ्वाम, झ्वाम झ्वाम झ्वाम पार झ्वाम झ्वाम झ्वाम झ्वाम, झ्वाम झ्वाम

आहै कुनैबेला हाम्रो, देशैमा ए, किनिने बेचिने, केसैमा ए, बेलाबेला सांसद, डराउँथे हडकडमा पुगेर, कराउँथे ए डिस्कोमा नाँचेर, रमाउँथे बारुले कम्मर, समाउँथे तस्करले तिनलाई, चराउँथे नोटले उठबस, गराउँथे लुटेका गाडी, गुडाउँथे ए अर्काको श्रीमती, उठाउँथे ए अहिले त सांसद, धनी छन् खल्तीमा टन्न, मनी छन् बिहानै पार्टीमा, छिरेर ए दिउँसो बिल्ला, भिरेर ए दुईचार करोड, तिरेर सभासद भई, फिरेर ए संविधान बनाउँछु, भन्दैछन् ए लगानीको सावाँब्याज, गन्दैछन् ए यस्ताले संविधान, ल्याउलान् त ? ए दुनियाँमा साँढे ब्याउलान् त ?

कुरो बांगो माओवादीको, पथ पनि बांगियो पार्टी फुट्यो, चुनाव हार्यो, गुट झांगियो ।

बाहिर–बाहिर सहमतिको मिठो भाषण पड्काउने २२ दल भेला पारी हलो अड्काउने ।

जनता न कार्यकर्ता, कोहीका नजिक भएनन् प्रचण्डजी व्यंग्य गर्न नायक रहेनन् न त बाधा राजा छ, न त बाधा हतियार सहमति किन हुन्न, को हो मतियार ?

नगदरामका अगाडि जनवाद जिल्लाराम बाबुरामको नयाँ शक्ति भयो ठण्ठाराम । बिच्चिएका वैद्यले गोलमेच सभा मागेछन् गरौंन त भन्दा खेरी आफैं भागेछन् ।

मधेसवादी दल हो, के हो तिम्रो गन्तव्य ? सुन्यौ होला राम्रै सँग, मोदी मन्तव्य । राजावादी भक्त हो, भजन छोड राजाको देख्यौ होला तिम्रो राजा पोको गाँजाको ।

छोटे राजा फुटबलको भ्रष्टाचारमा फसेको कारवाहीबाट जोगिनलाई संसद पसेको । विष ख्वाउँदैमा खाईंदैन, देश टुक्र्याउन पाईंदैन देश टुक्र्याउन खोज्नेहरु हामीलाई चाहिंदैन ।

स्वागत द्वारमा आगो लगाई अधिवेशन गरेर ओली नेपाल कुस्ती खेल्छन्, भुईंमै झरेर एमालेलाई धेरै वर्ष हाँके नलीहुक्काले अध्यक्ष पद पड्कायो उखान टुक्काले ।

कोहीले धन कमाए, कोहीले जन बढाए पक्कै मन्त्री भइन्छ है, केपी समाए । वामदेवले डिभाइडरमा ट्रिपल जम्प हानेछन् चुँडिएछ ईंजार, हत्तपत्त बाँडेछन् ।

संविधान हेर्न मनथ्यो, नेताले नै दिएनन् नि लैलै भोट माग्न आउला, अनि थाहा पाउला, भोट माग्न आउला, अनि थाहा पाउला लोप्पा ख्वाउँदा जनताले, ए, लोप्पा ख्वाउँदा जनताले ।

सबैदलका हाम्रा नेता, केटी छैनन् केटैकेटा शिखर वार्ता जान्छन्, शिखर चुरोट तान्छन्, फर्किआउँछन् लुरुलुरु, ए, फर्किंआउँछन् लुरुलुरु ।

हाम्रा देशका पिलेन, निगमका भिलेन प्यासेन्जरले चढ्न खोज्दा ढोकै खुलेन फुस्स फुस्स हावा हान्छ खानेपानी धाराले बन्छ बन्छ नयाँ नेपाल यस्तै पाराले ।

ठूलो बजेट सिक्काको, बगिराछ खोलामा मास्टरजति पार्टीमा, स्कुल झोलामा । पिलन्धरे पियनहरु अख्तियारमा धाउँदैछन् ठूला भ्रष्ट झण्डा हल्लाई हल्लाई आउँदैछन् विषादिले कृषि बजार ह्वासह्वासी गनाउने घिरौंलालाई सुई हाली लौका बनाउने

सुपथ मूल्य पसलमा सस्तो किन्न पाइन्छ काँछ पसल भनी खोज्न गुगन चाहिन्छ दुईचार जना रमेश खरेल भेटिन्छन् नि भेट्नलाई पछि पछि गृहमन्त्री पाइला मेट्नलाई मुख्य सचिव लिलामणि बाग्मतीमा पसेका कमाई गर्न छाडी फोहोर फाल्न कस्सेका डिभी भर्दै कर्मचारी विदेशमा थुप्रिने लालबाबु बबुरा एक्लै उफ्रिने

हाम्रो देशका कम्युनिष्ट पार्टी, सिद्धान्तनै साटी साटी दुईटा पार्टी मिल्छन्, दर्जन भई निस्कन्छन् नि, लैलै बच्चा पाउँछन् खुरुखुरु, ए बच्चा पाउँछन् खुरुखुरु ।

जनताको नाम लिन्छन्, जनतालाई सास्ती दिन्छन् नि लैलै नेता हुन् कि डन हुन् फलामका घन हुन् नेता हुन् कि डन हुन् फलामका घन हुन् बुझ्नैलाई महाभारत, ए बुझ्नैलाई महाभारत ।

ए सुसिल कोइराला– संविधान खोइ ? ए शेरबहादुर देउवा– संविधान खोइ ? ए रामचन्द्र पौडेल– संविधान खोइ ? केपी ओली– संविधान खोइ ? माधव नेपाल– संविधान खोइ ? झलनाथ खनाल– संविधान खोइ ? पुष्पकमल दाहाल– संविधान खोइ ? मोहन वैद्य– संविधान खोइ ? बाबुराम भट्टराई– संविधान खोइ ? विजय गच्छादार– संविधान खोइ ? चित्रबहादुर केसी– संविधान खोइ ? महन्त ठाकुर– संविधान खोइ ? उपेन्द्र यादव– संविधान खोइ ? नारायणमान बिजुक्छे – संविधान खोइ ? सुवास नेम्वाङ– संविधान खोइ ? रामवरण यादव – संविधान खोइ ?

सबै र नेता विदेशै लागे, ए सबै र नेता विदेशै लागे, संविधानचाहिँ खोई भन हौ झम्के गुलेली । संविधान दिए जेसुकै भन, ए संविधान दिए जेसुकै भन नदिएचाहिँ चेई भन हौ झम्के गुलेली ।

६ सय १ सबैलाई देख्छु, ए ६ सय १ सबैलाई देख्छु, संविधानचाहिँ देख्दिन हौ झम्के गुलेली । लेख्ने भए खुरुक्क लेख, ए लेख्ने भए खुरुक्क लेख, कि त भन लेख्दिन हौ झम्के गुलेली ।

बानेश्वर ज्यानको त्यो ठूलो घर, ए बानेश्वर ज्यानको त्यो ठूलो घर, उडाउँला कि हावाले हौ झम्के गुलेली । यतिञ्जेलसम्म संविधान छैन, ए यतिञ्जेलसम्म संविधान छैन, के गर्छ त्यो सभाले हौ झम्के गुलेली ।

संसदको बजार नेताको व्यापार, ए संसदको बजार नेताको व्यापार, नेता हौ कि आलु प्याज हौ झम्के गुलेली । दुई–दुई चोटि भोट लगि खायौ, ए दुई–दुई चोटि भोट लगि खायौ, भएछ नि साँउ न ब्याज हो झम्के गुलेली ।

नेपाली जनको सपना हजुर, ए नेपाली जनको सपना हजुर, कहाँ गई बस्ला नि हौ झम्के गुलेली । साँढेको पछि लागिएछ क्यारे, ए साँढेको पछि लागिएछ क्यारे, कहिले भूँईमा खस्ला नि हौ झम्के गुलेली ।

आ है पानीमा पँहेले तर नहोस्, ए खोलाको छेउमा घर नहोस्,

ए कवाडी पिलेन नउँडोस्,
ए भिरमा गाडी नगुडोस्,

ए खेतमा जहाज नझरोस्,
ए नेपालमा इबोला नसरोस्,

ए धारो खोल्दा पानी होस्,
ए आयकर तिर्ने बानी होस्,

ए कालो सूचीमा नाम नहोस्,
ए खल्तिमा घुसको दाम नहोस्,

ए भकारो जत्रो पेट नहोस्,
ए डन गुण्डासँग भेट नहोस्,

ए बालबच्चा अपहरण नहोउन्,
ए लुटेराले ज्यानमा नछोउन्,

ए फुर्सद नहोस् हतारो होस्,
ए भान्सामा दहीको कतारो होस्,

ए कालोमा छुँदा कलर होस्,
ए रुपैयाँ छुँदा डलर होस्,

ए आमाभन्दा छोरी जन्ने होस्,
ए भ्रष्टलाई दाम्लोमा बाँध्ने होस्,

लौ फेसबुकमा छोरी नाटाँसियोस्,
लौ कुलतमा छोरो नगाँसियोस्,

लौ ज्वाईंले दाइजो नमागुन्,
लौ बुहारीले तेक्वान्दो नहानुन्,

लौ चोरलाई खेद्ने लाठी होस्,
लौ घरकी जाहान बाठी होस्,

लौ डोजरले ढोकामा नहानोस्,
लौ अख्तियारले फाईल नतानोस्,

लौ बेपत्ता सबै भेटिउन्,
लौ दुःखका घाउ मेटिउन्,

लौ रसिलो–पोषिलो खान्की होस्,
लौ स्याउको जस्तो बान्की होस्,

लौ महङ्गीमा पाहुना नआओस्,
लौ आएपनि कुकुरले भगाओस्,

लौ यहाँ आउन काललाई भय होस्, लौ नेपाली जनताको जय होस्,

लौ कछुवाको जस्तो चाल नहोस्,
लौ सुनकोशी जस्तो ताल नहोस्,

लौ संविधान छिटो लेखियोस्,
लौ उज्यालो नेपाल देखियोस्,

सयौं थुङ्गा फूलका हामी एउटै माला नेपाली, माला चुँडाउनेका गाला चड्काउ नेपाली । (कान्तिपुर टेलिभिजन कार्यक्रम सरोकारमा सिस्नुपानी नेपालले गरेको प्रस्तुतिको सम्पादित अंश)

0 comments for "सिस्नुपानीको देउसी, ‘प्रधानमन्त्री लुतो कन्याउने’"

Leave a reply

    Popular Posts

    Blog Archive